काठमाडौं — धनुषा निर्वाचन क्षेत्र नम्बर–१ बाट आफ्नो पार्टीका उम्मेदवार मातृका प्रसाद यादव निर्वाचित भइसकेको अवस्थामा पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ।
नेकपा केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै मत परिणाम सार्वजनिक भइसकेपछि पनि आयोगले निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र नदिएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरिसकेको अवस्थामा मतगणनाबाट विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो।”
आचार्यका अनुसार आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको थियो। उक्त मतगणनाबाट नेकपाका उम्मेदवार मातृका प्रसाद यादव विजयी भइसके पनि प्रमाणपत्र प्रदान गर्न ढिलाइ गरिनु निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत भएको उनको भनाइ छ।
अन्तिम मत परिणामअनुसार धनुषा–१ मा मातृका प्रसाद यादवले १० हजार ४३० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामपलटन साहले ९ हजार ४८५ मत ल्याएका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका छन्।

