काठमाडौँ – पाकिस्तान र अफगानिस्तान बीच सीमा क्षेत्रमा जारी द्वन्द्वले पछिल्लो समय नयाँ रूप लिएको छ। दुवै देशले एकअर्कामाथि हवाई तथा जमिनमार्फत आक्रमण गरेको आरोप लगाउँदै स्थिति थप तनावपूर्ण बनेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम BBC का अनुसार पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानी सेनाको कारबाहीमा हालसम्म १ सय ३३ अफगानी तालिबान सदस्य मारिएको र २ सयभन्दा बढी घाइते भएको दाबी गरेका छन्। तर अफगानिस्तानस्थित तालिबान पक्षले भने उक्त दाबी अस्वीकार गर्दै आफ्नो पक्षमा कुनै क्षति नभएको जनाएको छ।
यसैबीच पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारी ले देशको सेनाले गरेको जवाफी कारबाहीको प्रशंसा गर्दै पाकिस्तानको शान्तिलाई कमजोरीका रूपमा बुझ्नेहरूले कडा जवाफ भोग्नुपर्ने चेतावनी दिएका छन्।
तालिबानले भने कांधार र हेलमण्ड क्षेत्रमा रहेका पाकिस्तानी सैनिक इलाकामा प्रतिकारात्मक हमला गरिएको दाबी गरेको छ। दुवै पक्षले पहिलो आक्रमण कसले गर्यो भन्ने विषयमा फरक–फरक आरोप लगाउँदै आएका छन्।
सन् २०२५ अक्टोबरमा दुई देशबीच अस्थायी शान्ति सम्झौता भएको भए पनि पछिल्लो समय सीमा क्षेत्रमा पुनः झडप र आक्रमणका घटना बढ्दै गएका छन्। सीमा सुरक्षा, उग्रवाद नियन्त्रण तथा आपसी अविश्वासका कारण स्थिति जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ।
सीमा क्षेत्रमा बढ्दो तनावले क्षेत्रीय सुरक्षामा समेत असर पार्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउँदै वार्तामार्फत समाधान खोज्न आग्रह गरिरहेको छ।

