काठमाडौं — आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना समर्थक तथा सम्पूर्ण मतदातालाई ‘तारा’ चुनाव चिह्नमा मतदान गर्न अपिल गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल द्वारा जारी संयुक्त अपिलपत्रमा लोकतान्त्रिक प्रणाली, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारविरुद्धको सङ्घर्ष तथा आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवादी समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
अपिलपत्रमा शहीद, घाइते, अपाङ्ग तथा बेपत्ता सङ्घर्षकर्ताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानको सम्मानसहित पार्टीले आफ्नो भावी योजना सार्वजनिक गरेको छ। मुलुकमा बाह्य हस्तक्षेप र अस्थिरता फैलाउने प्रयास भइरहेको दाबी गर्दै राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षाका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरिएको छ।
पार्टीले संघीयता, समानुपातिक र समावेशी सहभागिता कायम राख्दै स्थापित लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। लोकतन्त्रको मजबुती नै विकास र स्थिरताको आधार भएको उल्लेख गर्दै संविधानप्रदत्त अधिकारहरूको संरक्षण गर्ने प्रतिज्ञा पनि गरिएको छ। आवश्यक परे संविधान संशोधन पनि विधिसम्मत प्रक्रियाबाट मात्र गरिनुपर्ने धारणा राखिएको छ।
निर्वाचन प्रणाली सुधारलाई प्राथमिकतामा राख्दै हालको प्रणाली खर्चिलो र जटिल भएको उल्लेख गरिएको छ। यसलाई सरल, पारदर्शी र कम खर्चिलो बनाउने योजना पार्टीले अघि सारेको छ। साथै, सुशासन प्रवर्द्धन, भ्रष्टाचारमाथि कडा कारबाही, सम्पत्ति छानबिन आयोग गठन र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सामाजिक क्षेत्रमा जातीय, लैङ्गिक, सांस्कृतिक तथा भौगोलिक असमानता अन्त्य गर्ने, छाउपडी र डाइनी–बोक्सी जस्ता कुरीतिहरू उन्मूलन गर्ने अठोट पनि अपिलमा समेटिएको छ। आर्थिक रूपान्तरणका लागि कृषि, उद्योग, ऊर्जा, व्यापार, पर्यटन र रोजगारी प्रवर्द्धन, आयात निर्भरता घटाउने तथा स्वाधीन अर्थतन्त्र निर्माण गर्ने योजना प्रस्तुत गरिएको छ।
प्राकृतिक स्रोत संरक्षण, दिगो विकास र विपद् व्यवस्थापनमा जोड दिँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र नीति सञ्चालन गर्ने, असमान सन्धि–सम्झौता पुनरावलोकन गर्ने र अतिक्रमित भूमि फिर्ता ल्याउने नीति पनि सार्वजनिक गरिएको छ।
अपिलको अन्त्यमा पार्टीले विगतका कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भनिएको छ, “व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौं।”

