काठमाडौं — संघीय राजधानी उपत्यकाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूले ‘विकासको मार्गचित्र: भिजन १० साझा प्रतिबद्धता’ आज सार्वजनिक गर्ने भएका छन्।
दिउँसो आयोजना हुने कार्यक्रममा तीनवटै जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारहरूको उपस्थितिमा उक्त साझा प्रतिबद्धता सार्वजनिक गरिने पार्टीका महामन्त्री तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले जानकारी दिए।
महामन्त्री पौडेलका अनुसार संघीय राजधानीको दिगो विकासलाई केन्द्रमा राख्दै आगामी पाँच वर्षमा सम्पन्न गरिने साझा कार्ययोजनाको खाका तयार पारिएको हो। यातायात व्यवस्थापन, पूर्वाधार विस्तार, शहरी व्यवस्थापनलगायतका प्रमुख मुद्दामा उम्मेदवारहरूबीच परामर्श गरेर प्रतिबद्धता तयार गरिएको उनले बताए।
“समग्र उपत्यकाको विकास हाम्रो प्राथमिकतामा छ। एक्लाएक्लैभन्दा साझा रूपमा मुद्दा उठाउँदा प्रभावकारी हुने भएकाले संयुक्त प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौं,” पौडेलले भने।
कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस उम्मेदवारहरू सहभागी हुने पार्टीका काठमाडौं जिल्ला सचिव सुशन वैद्यले जानकारी दिएका छन्।

