पर्सा — जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट निर्वाचित वीरगन्ज महानगरपालिका–१ छपकैया को सम्पूर्ण वडा बोर्ड समिति आज नेपाली कांग्रेस मा औपचारिक रूपमा प्रवेश गरेको छ। यस घटनाले स्थानीय राजनीतिक वृत्तमा व्यापक तरंग पैदा गरेको छ।
जसपा नेपालबाट निर्वाचित वडा अध्यक्ष मनोज राउत कुर्मी, वडा सदस्य दिपेन्द्र राउत, रमाउती देवी र प्रभु महतो कोइरी लगायतका जनप्रतिनिधिहरूले पार्टी परित्याग गर्दै कांग्रेस रोजेका हुन्। उनीहरूलाई पर्सा क्षेत्र नम्बर–२ का कांग्रेस उम्मेदवार अजयकुमार चौरसिया ले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए।
नवप्रवेशी जनप्रतिनिधिहरूले कांग्रेसको नीति, नेतृत्व र विकासप्रतिको स्पष्ट दृष्टिकोणबाट प्रभावित भएर पार्टी परिवर्तन गरेको बताएका छन्। उनीहरूले आगामी दिनमा वडा र क्षेत्रको समग्र विकासका लागि कांग्रेससँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय तहमा प्रभावशाली मानिएको छपकैयाको वडा नम्बर–१ को निर्वाचित बोर्ड नै कांग्रेसमा प्रवेश गर्नुले पर्सा क्षेत्र–२ मा चुनावी समीकरण बदलिने संकेत देखिएको छ। संगठित रूपमा जनप्रतिनिधिहरूको समर्थन पाउँदा उम्मेदवार चौरसियाको निर्वाचन अभियानलाई उल्लेखनीय बल पुग्ने राजनीतिक विश्लेषकहरूको आकलन छ।
विश्लेषकहरूका अनुसार यस घटनाले कांग्रेसको संगठन थप सुदृढ हुनुका साथै मतदातामाझ सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ। वीरगन्ज–१ मा देखिएको यो राजनीतिक ध्रुवीकरणले आगामी निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाउने देखिन्छ।

