काठमाडौँ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज हिरासतबाट रिहा हुँदै छन्।
गत फागुन ४ गते ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’मा पक्राउ परेका प्रसाईँलाई सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय मनोज कुमार शर्मा र मेघराज पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई हिरासतमा राखिरहनु नपर्ने फैसला गरेको हो।
यद्यपि सर्वोच्चको आदेश आएलगत्तै मंगलबार साँझ नै रिहा हुन नसकेको प्रहरीले जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ अनुसार अनुसन्धानका क्रममा रहेका व्यक्तिलाई रिहा गर्न सरकारी वकिलको कार्यालयको सहमति आवश्यक पर्ने प्रावधान छ। कार्यालय समय सकिएकाले उक्त सहमति लिन नसकिएको भन्दै उनलाई थप एक रात हिरासतमा राखिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आज आवश्यक प्रक्रिया पूरा गरी प्रसाईँलाई रिहा गरिने जानकारी दिएका छन्। “सर्वोच्च अदालतको आदेश प्राप्त भइसकेको छ। सरकारी वकिलको कार्यालयसँग कानुनी सहमति लिएर आजै कार्यालय समयभित्र रिहा गर्ने तयारी छ,” उनले भने।
हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका प्रसाईँको रिहाइको खबरसँगै मंगलबार साँझ उनका समर्थकहरू परिसर बाहिर जम्मा भएका थिए। झन्डै दुई साता हिरासतमा बसेपछि प्रसाईँ आज मुक्त हुन लागेका हुन्।

