वीरगञ्ज। काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट ‘जेनजी’ आन्दोलनको मौका छोपी फरार भएका एक वृद्ध प्रतिवादीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ता टोल निवासी ७४ वर्षीय रामचन्द्र महरा चमार रहेका छन्। लागूऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई कारागारमा सजाय काटिरहेका उनी गत भदौ २४ गते देशभर भएको आन्दोलनका क्रममा सुरक्षा घेरा तोडेर फरार भएका थिए।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका महरा आफ्नै गृह जिल्ला अन्तर्गत पोखरिया नगरपालिका–४ क्षेत्रमा लुकिछिपी बसिरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ। महरा काठमाडौँबाट पर्सा कसरी आइपुगे र उनलाई लुकाउन अन्य कसैको संलग्नता थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

