झापा। झापामा जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
बाह्रदशी गाउँपालिका–१ बोक्राझारी निवासी ५० वर्षीया लिला राजवंशीको मंगलबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी लखनलाल राजवंशीकी श्रीमती हुन्।
गत फागुन ७ गते आफ्नै निर्माणाधीन पक्की घरमा पानी हाल्ने क्रममा नजिकैको लक्ष्मीनाथ सामुदायिक वन, भागुडुब्बाबाट आएको जंगली हात्तीले आक्रमण गर्दा राजवंशी गम्भीर घाइते भएकी थिइन्।
घटनापछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएसण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मंगलबार उनको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। प्रहरीले जंगली जनावरको जोखिम बढेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

