काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोग समक्ष आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ले निर्वाचनको समयमा हुनसक्ने सम्भावित दुर्घटना तथा आकस्मिक घटनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई मतदान तथा निर्वाचनसम्बन्धी कार्यमा नखटाउन अनुरोध गरिएको बताउनुभयो।
उहाँका अनुसार चुनावका बेला विभिन्न किसिमका दुर्घटना, झडप वा आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने भएकाले स्वास्थ्यकर्मी चौबीसै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ। “निर्वाचनका क्रममा हुनसक्ने जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सेवा प्रभावकारी राख्न स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न आवश्यक छ,” प्रवक्ता बुढाथोकीले भन्नुभयो।
मन्त्रालयले निर्वाचन अवधिभर देशभरका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई उच्च सतर्कताका साथ सेवा प्रवाह गर्न निर्देशन दिएको छ। साथै, आकस्मिक उपचार सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन मिलाउनसमेत सम्बन्धित निकायलाई आग्रह गरिएको जनाएको छ।

