काठमाडौँ – निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारलगायत गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा शिक्षक, प्राध्यापक तथा कर्मचारी सहभागी भएको उजुरी प्राप्त भएको जानकारी दिँदै त्यस्ता व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो।
आयोगका अनुसार निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनी व्यवस्थाअनुसार सम्बन्धित पदबाट हटाउनेसम्मको कारबाही गर्न सकिने प्रावधान रहेको छ। त्यसैले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन सम्बन्धित शिक्षक–प्राध्यापक तथा कर्मचारीलाई सचेत गराइएको छ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने तथा गराउने काममा केन्द्रित हुन सबै सरोकारवालालाई आग्रह गरेको छ।
प्रवक्ता भट्टराईले जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयलाई आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गर्न पुनः निर्देशन दिइएको जानकारी दिनुभयो।

