काठमाडौं। निर्वाचन आयोग ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता लाग्ने व्यक्ति, समूह तथा संस्थाबारे पुनःस्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना सार्वजनिक हुनुका साथै उल्लेख्य संख्यामा उजुरी परेपछि आयोगले सबै सरोकारवालालाई सचेत गराएको हो।
प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ। निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार नेपाल सरकार र प्रदेश सरकारका मन्त्री, सरकारी तथा अर्धसरकारी निकायका पदाधिकारी र कर्मचारी, स्थानीय कार्यपालिका तथा सदस्यहरू पूर्ण रूपमा आचारसंहिताको दायरामा पर्छन्। त्यस्तै संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थान, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय र विश्वविद्यालय तथा तिनका शिक्षक–कर्मचारीसमेत आचारसंहिताबाट बाध्य हुनेछन्।
राजनीतिक दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता कडाइका साथ लागू हुने आयोगले स्पष्ट पारेको छ। निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्था, गैरसरकारी संस्था र तिनका पदाधिकारी तथा कर्मचारीसमेत आचारसंहिताको दायरामा पर्ने जनाइएको छ।
यसैगरी संवैधानिक निकाय, सुरक्षा निकाय र सुरक्षाकर्मी, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति तथा अनुगमनकर्ता, मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, विकास साझेदार संस्था र सरकारी तथा अर्धसरकारी परियोजनाका कर्मचारीलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ। मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र तिनका कर्मचारीसमेत यसबाट मुक्त नहुने स्पष्ट गरिएको छ।
स्थानीय कार्यपालिकाका केही पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा सहभागी भएको पाइएपछि आयोगले आइतबार पनि ध्यानाकर्षण गराएको थियो। सोमबार पुनः सरकारी तथा निजी क्षेत्रका सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी दिएको छ।

