फागुन ११- पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बन्दै गएपछि स्थानीय प्रशासनले आज सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा लागू गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार अर्को सूचना नभएसम्म सर्वसाधारणको आवतजावत तथा भेला हुन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला समेत तोकेको छ। जसअनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार उक्त क्षेत्रभित्र कसैले पनि हिँडडुल गर्न, जुलुस निकाल्न, सभा–सम्मेलन गर्न, बैठक बस्न वा घेराउजस्ता गतिविधि गर्न पाउने छैनन्।
यद्यपि, प्रशासनले अत्यावश्यक सेवामा भने सहजीकरण गर्ने जनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन तथा स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई निर्वाध रूपमा सञ्चालन गर्न दिइनेछ। साथै सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षामा सहभागी हुने विश्वविद्यालयका परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीलाई पनि आवागमनमा सहजीकरण गरिने विज्ञप्तिमा उल्लेख छ।
हवाई टिकट भएका यात्रुहरूको यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले उनीहरूको आवतजावतमा अवरोध नगर्ने नीति लिइएको प्रशासनले स्पष्ट पारेको छ।
पछिल्ला घटनाक्रमका कारण सुरक्षा चुनौती बढ्दै सामाजिक सद्भावमा असर पर्न सक्ने सम्भावना देखिएपछि कर्फ्यु जारी गर्नुपरेको प्रशासनको भनाइ छ। हाल वीरगञ्जका प्रमुख चोक तथा गल्लीहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आदेश उल्लंघन गर्ने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

