काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी रहेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले देशभरका निर्वाचन क्षेत्रमा मतपत्रसहित अन्य आवश्यक सामग्री ढुवानी गर्ने कामलाई तीव्र बनाएको जनाएको छ।
आयोगका अनुसार हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री पठाउने काम भइरहेको छ। राजधानी काठमाडौंभित्रका मतदान केन्द्रहरूमा समेत केही दिनभित्र सामग्री पु¥याइने आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरी सम्बन्धित क्षेत्रमा पठाइएको आयोगले जनाएको छ।
आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो। त्यसपछि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र पठाइएको हो।
मतपत्रबाहेकका अन्य निर्वाचन सामग्रीको ढुवानी कार्य भने अधिकांश क्षेत्रमा सम्पन्न भइसकेको छ। निर्वाचन सम्पन्न गर्न ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ।
मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा तोकिएको कार्यतालिकाअनुसार गरिएको थियो। गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि नमूना मतपत्र छपाइ सुरु गरिएको थियो। आयोगले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेको जनाएको छ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु भई माघ १३ गतेसम्म सम्पन्न भएको थियो। समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र गतिमा अघि बढाइएको आयोगले जनाएको छ।

