पशुपति आर्यघाटमा काम गर्ने घाटे गणेश ढकालले आफूलाई मधेस मुलका देखिने एक व्यक्तिले चार सय रुपैयाँ दिएर जलाउँदै गरेको शवको सानो टुक्रा हड्डी मागेको बयान दिएका हुन्।
उनले त्यही काम गर्ने एक जना युवकलाई त्यो हड्डी कपुरको भाँडोमा हालेर पठाएको र ती युवकलाई पनि एक सय रुपैयाँ पाएको बताए। तर ती हड्डी किन्ने व्यक्ति बारे आफूलाई जानकारी नभएको उनको बयान छ।
शुक्रबार पक्राउ परेका ढकालसँग आइतबार गौशला प्रहरी वृत्तले सोधपुछ गरेको थियो। त्यसक्रममा आफूले चार सय रुपैयाँको प्रलोभनमा परेर यस्तो काम गरेको बताएको अनुसन्धानमा संलग्न एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।
मलाई चार सय रुपैयाँ दिएर एउटा टुक्रा हड्डी भगवानलाई चढाउन भनेर मागे। मैले कपुरको भाँडोमा हालेर सहयोगी भाइलाई दिएँ। उसले पुर्याइदिएपछि एक सय रुपैयाँ पायो’, ढकालले बयानमा भनेका छन्, ‘सानो हड्डी हो भगवानलाई चढाउनका लागि भनेर मागेपछि दिएको हो। यसअघि यस्तो काम गरेको थिइनँ।’
ढकाल २०५५ सालदेखि पशुपति आर्यघाटमा काम गर्दै आएका छन्। सुरुमा एउटा शव जलाएको चार सय रुपैयाँ लिने गरेकोमा अहिले १५ सय रुपैयाँ लिने गरेको उनको भनाइ छ।
शुक्रबार काभ्रेपलान्चोकको बनेपा नगरपालिका ९ का राम शाहीको शव जलाउने क्रममा आफन्तले अस्तु निकाली दिन भनेका थिए। तर ती घाटे ढकालले अस्तु दिनुपहिले नै त्यसरी हड्डी निकालेर दिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शुक्रबार उनलाई र ती हड्डी लगेर दिने सहयोगीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। आइतबार सार्वजनिक बिदा भएकाले सोमबार अदालतमा उपस्थित गराएर म्याद थप गर्ने प्रहरीको तयारी छ।

