पर्सा, पोखरिया — पर्साको पोखरियास्थित मालपोत कार्यालय परिसरबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ। शुक्रबार ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले सेवाग्राहीलाई दुःख दिने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार, ती व्यक्तिहरू कार्यालयमा अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको गुनासो आएपछि नियन्त्रणमा लिइएको हो।
उनले कार्यालयभित्र छिरेर सेवाग्राही तथा कर्मचारीलाई दुःख दिने गतिविधि बढेपछि प्रहरी परिचालन गरिएको जानकारी दिए। पक्राउ परेका तीनै जनालाई हाल ईलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको छ।
प्रहरी निरीक्षक पौडेलका अनुसार, पक्राउ परेका व्यक्तिहरूले आफूहरू लेखापढी व्यवसायी भएको दाबी गरेका छन्। उक्त दाबीको सत्यता जाँच्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

