रौतहट — रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। गढिमाई नगरपालिका–७ स्थित धरमपुर–धनाडी सडकखण्ड अन्तर्गत नहरको बाटोमा उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल खेतमा पल्टिएको थियो।
दुर्घटनामा ट्रयाक्टरको इन्जिनले थिचिँदा चालक गौर नगरपालिका–६, सबगढाका २८ वर्षीय रञ्जित साहको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

