वीरगंज महानगरपालिका,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर,सशस्त्र प्रहरी बल नेपालको सन्युक्त आयोजनामा मितेरी पुल क्षेत्रमा बृहत् वृक्षरोपण, सरसफाइ तथा रोपिएका बिरुवाहरूको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम प्रकाश खेतान को अध्यक्षतामा सम्पन्न भएको हो। वातावरण संरक्षण र शहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि राजु कार्की (प्रहरी नायब उपरीक्षक, जिल्ला प्रहरी कार्यालय पर्सा) रहनुभएको थियो भने विशिष्ट अतिथिमा विकास अधिकारी (डीएसपी, सशस्त्र प्रहरी भन्सार गुल्म) सहभागी हुनुभएको थियो।
यसैगरी अतिथिहरूमा डा. किरन पौडेल, युवराज कटुवाल (ट्राफिक प्रहरी प्रमुख, वीरगंज), सचिन, निर्मला शर्मा, सुमित्रा नेपाल, कविता यादव (आफन्त नेपाल), नगर प्रहरी नायब निरीक्षक लाल प्रसाद लुइटेल तथा सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ठकुर लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत मितेरी पुल आसपास क्षेत्रमा वृक्षरोपण गर्नुका साथै सरसफाइ अभियान सञ्चालन गरिएको थियो। साथै रोपिएका बिरुवाहरूको अवस्थाबारे निरीक्षण गरी संरक्षण र नियमित हेरचाहमा जोड दिइएको आयोजकले जनाएको छ।
स्थानीय समुदाय, प्रहरी तथा विभिन्न संघ–संस्थाको संयुक्त पहलमा सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षणमा सकारात्मक सन्देश दिएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

