गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।
आज बस्ने पहिलो बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही अनुसार रवि लामिछानेले संसदलाई सम्बोधन गर्नेछन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ भने दोस्रो ठूलो दल नेपाली कांग्रेस रहेको छ, जसका ३८ सांसद छन्। कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन।
तेस्रो दल नेकपा एमालेका २५ सांसद छन् र उसले रामबहादुर थापालाई संसदीय दलको नेता चयन गरेको छ। चौथो दल नेकपाका १७ सांसद छन्, जसको नेतृत्व पुष्पकमल दाहालले गरिरहेका छन्।
यसैगरी, श्रम संस्कृति पार्टीका ७ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ। श्रम संस्कृति पार्टीका नेता हर्कराज राई हुन् भने राप्रपाको संसदीय दलको नेतृत्व ज्ञानेन्द्र शाहीले गरिरहेका छन्।
पहिलो बैठकमा सम्बोधन गर्ने परम्परा अनुसार दलका प्रमुख नेताहरूले आफ्नो धारणा राख्नेछन्। यस क्रममा हर्कराज राईले आफूलाई सात मिनेट मात्र समय दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।
संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेसम्म सम्बोधनका लागि समय माग गरेका छैनन्। तथापि, उनले बोल्न चाहेमा समय व्यवस्थापन गरिने बताइएको छ।

