पर्सा–१ का सांसद हरि पन्त ले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष सिर्सिया नदी प्रदूषणदेखि क्यासिनो, मल अभाव र महानगरको अवैध असुलीसम्बन्धी गम्भीर विषय उठान गरेका छन्।
आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मधेस प्रदेशका सांसदहरूसँग भएको भेटमा सांसद पन्तले पर्सा–१ क्षेत्रसँग सम्बन्धित समस्याहरूबारे ध्यानाकर्षण गराएका हुन्।
उनले विशेषगरी सिर्सिया नदी को बढ्दो प्रदूषण नियन्त्रणका लागि अधिकार सम्पन्न समिति गठन गरी समयसीमा तोकेर काम गर्नुपर्नेमा जोड दिए। साथै, किसानहरूलाई आवश्यक समयमा पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकार गम्भीर हुनुपर्ने बताए।
सांसद पन्तले वीरगञ्जका क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराई आर्थिक रूपमा क्षति पुर्याइरहेको आरोप लगाउँदै प्रहरी र प्रशासन मूकदर्शक बनेको टिप्पणी गरे। त्यसैगरी, वीरगञ्ज महानगरपालिका ले विभिन्न स्थानमा ढाट राखेर अवैध असुली गरिरहेको विषय पनि उनले प्रधानमन्त्रीसमक्ष राखेका थिए। यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति रहेको गुनासो समेत उनले सुनाए।
सबै कुरा सुनेपछि प्रधानमन्त्री शाहले तत्कालै प्रहरी महानिरीक्षक र गृहसचिवलाई निर्देशन दिने आश्वासन दिएका छन्। उनले जनप्रतिनिधिले उठाएका जायज विषयलाई जिल्ला प्रशासन र प्रहरी नेतृत्वले बेवास्ता गर्न नसक्ने स्पष्ट पारे।
भेटमा श्रम मन्त्री दिपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह तथा मधेस प्रदेशका अन्य सांसदहरूको उपस्थिति रहेको थियो।

