श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
चार दिनसम्म अत्यन्त नियम, संयम र श्रद्धापूर्वक मनाइने यस पर्वको अन्तिम दिन तराई–मधेससहित देशका विभिन्न स्थानमा भक्तजनहरूले उत्साहका साथ समापन गरेका छन्।
मंगलबार साँझ अस्ताउँदो सूर्यदेवलाई ‘सन्ध्या अर्घ्य’ दिएका व्रतालुहरूले आज बिहान सूर्योदयको समयमा जलाशयमा उभिएर ‘भोरका अर्घ्य’ दिएका हुन्। वीरगञ्जका घडिअर्वा पोखरी, मूर्ली पोखरी, नगवा पोखरी, रानीघाट लगायतका जलाशयहरूमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको थियो। ती क्षेत्रहरूलाई आकर्षक रूपमा सजाइएकाले सम्पूर्ण शहर भक्तिमय र उत्सवमय बनेको थियो।
पर्वको पहिलो दिन ‘नहाय–खाय’ बाट सुरु भएको व्रत दोस्रो दिन ‘खरना’ विधिसँगै अघि बढेको थियो। तेस्रो दिन व्रतालुहरूले निराहार उपवास बसी साँझ जलाशयमा प्रवेश गरी छठी माताको पूजा गर्दै ठकुवा, भुसुवा, मुला, उखु, भन्टा, केरा र नरिवलजस्ता सामग्री प्रसादका रूपमा अर्पण गरेका थिए। रातभर जाग्राम बसेपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गरिएको हो।
धार्मिक विश्वासअनुसार छठ पर्व गर्दा मनोकाङ्क्षा पूरा हुने तथा विशेषगरी छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। कात्तिकमा मनाइने छठको तुलनामा चैती छठ मनाउनेको संख्या कम भए पनि पछिल्ला वर्षहरूमा यसको आकर्षण र सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।

