आज विश्वभर हिरासतमा रहेका तथा बेपत्ता पारिएका संयुक्त राष्ट्रसंघ का कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।
न्यायको माग, सुरक्षा सुनिश्चितता तथा जीवनरक्षक कार्यमा संलग्न कर्मचारीहरूको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै विभिन्न देशमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार सन् १९८५ मा अपहरणमा परेका एलेक कोलेट को स्मृतिमा प्रत्येक वर्ष मार्च २५ मा यो दिवस मनाउने गरिएको हो। कोलेट यूएनआरडब्ल्युए सँग आबद्ध पत्रकार थिए, जसलाई एक सशस्त्र समूहले अपहरण गरेको थियो। उनको शव सन् २००९ मा लेबनानको बेक्का उपत्यकामा फेला परेको थियो।
सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भएयता यसको सेवामा खटिएका सयौँ कर्मचारीले ज्यान गुमाइसकेका छन्। विशेषगरी सन् १९९० को दशकमा शान्ति स्थापना मिसनहरूको विस्तारसँगै जोखिम बढ्दा सो अवधिमा अघिल्ला दशकहरूको तुलनामा धेरै कर्मचारीले ज्यान गुमाएका थिए।
यस अवसरमा महासचिव एन्टोनियो गुटेरेस ले जोखिमपूर्ण परिस्थितिमा कार्यरत कर्मचारी तथा शान्ति सैनिकको सुरक्षा र अनुकूल कार्य वातावरण सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

