सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिवेदन गोप्य राखिएको भन्दै चर्को आलोचना भइरहेका बेला सरकार सार्वजनिक गर्ने दिशामा अघि बढेको हो।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की ले प्रतिवेदन सार्वजनिक गर्नुअघि केही वरिष्ठ मन्त्रीहरूसँग आन्तरिक छलफल गरिरहेकी छन्। सो छलफलपछि प्रतिवेदन सार्वजनिक गर्ने मिति तय हुने बताइएको छ। एक उच्च अधिकारीका अनुसार “आज–भोलिमै” प्रतिवेदन सार्वजनिक हुन सक्ने सम्भावना छ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने प्रतिवेदन सार्वजनिकबारे आफूलाई औपचारिक जानकारी नभएको बताएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। मन्त्रिपरिषद्ले १ चैतमै प्रतिवेदन ग्रहण गर्ने निर्णय गरे पनि हालसम्म सार्वजनिक गरिएको छैन।
प्रतिवेदन सार्वजनिक गर्न जेनजी आन्दोलनका अगुवा तथा नागरिक समाजका समूहहरूले निरन्तर दबाब दिँदै आएका छन्। माइतीघर मण्डलामा दैनिकजसो प्रदर्शनसमेत हुँदै आएको छ। नेपाली कांग्रेस ले पनि प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
प्रतिवेदनमा के छ ?
स्रोतका अनुसार आयोगले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ। उनीहरूलाई करिब १० वर्षसम्म कैद सजाय सिफारिस गरिएको बताइएको छ।
त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लाई तीन वर्ष कैद सिफारिस गरिएको छ। साथै तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र प्रहरी अधिकारी सिद्धिविक्रम शाहीमाथि पनि कारबाही सिफारिस गरिएको स्रोतले जनाएको छ।
यसका अतिरिक्त सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केही पदाधिकारीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।
यता राष्ट्रिय मानव अधिकार आयोग ले गठन गरेको छुट्टै समितिले पनि तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीहरूमाथि कारबाही सिफारिस गरेको बताइएको छ।
सरकारले चौतर्फी दबाबका बीच नयाँ सरकार गठनअघि नै प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतको भनाइ छ।

