वीरगन्ज । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज (मंगलबार) साँझ ब्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ अर्पण गर्दैछन्।
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने यस पर्वको तेस्रो दिन, षष्ठी तिथि, छठको मुख्य दिन मानिन्छ, जसलाई ‘सँझीया घाटे’ पनि भनिन्छ। आज साँझ ब्रतालुहरू नदी, पोखरी तथा विभिन्न जलाशयमा निर्माण गरिएका छठ घाटहरूमा पुगेर अस्ताउँदो सूर्यको पूजा गर्नेछन्।
वीरगन्जका घडीअर्वा पोखरी, रानीघाटस्थित सिर्सिया नदी, नगवा र छपकैया लगायतका स्थानमा विशेष तयारी गरिएको छ। यी घाटहरूमा ब्रतालुहरूको उल्लेख्य भीड लाग्ने अपेक्षा गरिएको छ।
छठ पूजाका लागि गहुँ वा चामलको पिठोबाट बनाइने ठेकुवा, साथै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी र उखु लगायतका फलफूल अर्घका रूपमा चढाइन्छन्।
पर्वको अन्तिम दिन भोलि (बुधबार) बिहान सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा सम्पन्न हुनेछ।
यसअघि सोमबारदेखि निर्जला व्रत बसेका ब्रतालुहरूले साँझ स्नान गरी शुद्ध भई घरमा नयाँ चुलो बनाएर चामल र भेलीबाट खीर (रसिआव) तथा गहुँको रोटी प्रसादका रूपमा तयार गरी चन्द्रमालाई अर्पण गरेका थिए।
चैती छठ पर्व गत आइतबार ‘नहाए खाए’ विधिबाट सुरु भएको हो। पहिलो दिन ब्रतालुहरूले नदी, खोलानाला तथा पोखरीमा स्नान गरी लसुन र प्याजरहित शाकाहारी भोजन ग्रहण गरेका थिए।
सत्य र अहिंसाप्रतिको आस्था अभिवृद्धि गर्ने तथा सबै जीवप्रति सहानुभूति जगाउने उद्देश्यले मनाइने छठ पर्व कात्तिक र चैत गरी वर्षमा दुई पटक मनाइन्छ। पछिल्लो समय चैती छठ मनाउनेहरूको संख्या बढ्दै गएको छ।

