काठमाडौं — देशका विभिन्न प्रदेशमा आज बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश सहित विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश का थोरै ठाउँमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्ने अनुमान छ।
महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना छ। दिउँसोपछि विशेषगरी मध्य र पूर्वी क्षेत्रमा हावाहुरीसहित मेघगर्जन, चट्याङ र असिनापानी पर्ने अनुमान गरिएको छ।
हिजो पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातसमेत भएको थियो। आज रातिदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ।
हावाहुरी र चट्याङका कारण रुख ढल्ने, कमजोर संरचना क्षति हुने, छाना उड्ने तथा विद्युत, सञ्चार, हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद्हरूले यस्तो अवस्थामा सकेसम्म घरभित्रै बस्न र बाहिर रहँदा सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।

