काठमाडौं — मुस्लिम समुदायले आज ईद उल फित्र पर्व श्रद्धा र उल्लासका साथ मनाएका छन्। काठमाडौं लगायत देशभरका मस्जिदहरूमा बिहानैदेखि ठूलो संख्यामा धर्मावलम्बीहरू भेला भई विशेष नमाज अदा गरेका छन्।
हिजरी संवतअनुसार नवौँ महिना रमजान भरि निराहार व्रत (रोजा) बसेपछि यो पर्व मनाउने परम्परा रहेको छ। आजको दिन विशेष नमाजपछि मुस्लिम समुदायले आफूभन्दा ठूला–बडाबाट आशीर्वाद लिने र सानालाई माया तथा आशीर्वाद दिने चलन रहेको छ।
राजधानीको घण्टाघरस्थित कास्मिरी मस्जिद तथा जामे मस्जिद घण्टाघर मा पनि बिहान विशेष नमाज पाठ गरिएको थियो। नमाजपछि श्रद्धालुहरू आफन्त र परिवारजनकहाँ गई शुभकामना आदान–प्रदान गर्ने गरेका छन्।
यस अवसरमा सेवई, खजुर लगायतका मीठा परिकार बनाएर आफन्त तथा पाहुनालाई खुवाउने प्रचलन छ। साथै, दीन–दुःखी र गरीबलाई दान दिने परम्परालाई यस पर्वको महत्वपूर्ण पक्षका रूपमा लिइन्छ, जसले सामाजिक सद्भाव र सहकार्यको सन्देश दिने विश्वास गरिन्छ।
इस्लाम धर्मावलम्बीहरूका अनुसार रमजान महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि मात्र ईदको मिति निर्धारण गरिन्छ। त्यसैले चन्द्र दर्शनपछि आज ईद उल फित्र मनाइएको हो।

