पर्सा — वीरगन्ज हेल्थ केयर हस्पिटलको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणले पर्साको विभिन्न गाउँपालिका तथा वडा क्षेत्रमा रहेका चार जना अपांगता भएका व्यक्तिलाई घरमै पुगेर ह्वीलचेयर वितरण गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले जिराभवानी गाउँपालिका–१ पकडीटोला निवासी ६२ वर्षीय प्रेम चौधरी, वडा–२ सेढवाका ३५ वर्षीय विनोद दास थारु, धोबनी गाउँपालिका–५ का ४२ वर्षीय मनबोध चौधरी मलाह र बिन्दबासिनी गाउँपालिका–३ झौवा निवासी १० वर्षीय आलोक कुमार रामलाई उनीहरूको घरमै पुगेर ह्वीलचेयर प्रदान गरेका हुन्।
सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिनु भयो कि यस पहलले अपांगता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न र दैनिक हिँडडुलमा सहजता ल्याउन सहयोग पुर्याउनेछ।
ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक क्षेत्री, सामाजिक अभियन्ता थारु, सम्बन्धित वडाका वडाध्यक्ष, रामसुरत प्रसाद कुर्मी, औरंगजेब अहमद लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
यसअघि पनि सशस्त्र प्रहरी गण–१३ ले पर्सा जिल्लाका दुर्गम क्षेत्रहरूमा पुगेर असहाय र विपन्न व्यक्तिहरूलाई आवश्यक सहयोग पुर्याउँदै आएको जनाएको छ।

