काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन्।
ललितपुरको एक होटलमा सुरु भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूले सहभागिता जनाएका छन्। कार्यक्रमको मुख्य उद्देश्य संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट र कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रका जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयमा सांसदहरूलाई प्रशिक्षण दिनु रहेको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूले नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार र सार्वजनिक उत्तरदायित्वका विषयहरूमा जानकारी प्राप्त गर्नेछन्। साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा र संसद् भित्र तथा बाहिर प्रभावकारी समन्वयका उपायहरूबारे साझा धारणा विकास गरिने छ।
दुई दिनसम्म चल्ने कार्यक्रममा रास्वपाका शीर्ष नेता, कानुनविद्, सञ्चार तथा प्रविधि विज्ञले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। उपसभापति डा. स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टी प्रतिबद्धता, जिम्मेवारी र सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्।
नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले संसद् संरचना तथा कार्यप्रणाली, सांसदका अधिकार र जिम्मेवारीबारे जानकारी दिनेछन् भने पूर्वकानुन सचिव तोयानाथ अधिकारीले संघीय संसद्मा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिका स्पष्ट पार्नेछन्। अध्येता एवं आईटी विज्ञ डा. दोभान राईले कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमको लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभावबारे प्रशिक्षण दिनेछन्। पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया, योजना तथा बजेट निर्माणमा सांसदको भूमिका बुझाउनेछन्।
रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेको छ भने समानुपातिकबाट ५७ सांसद पाएको छ। कार्यक्रममा सहभागी सांसदहरूले पार्टी धारणाबारे स्पष्ट बुझाई प्राप्त गर्ने र आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकताबारे सचेत हुने अपेक्षा गरिएको छ।

