काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न यातायात व्यवसायीहरूले सरकारसँग माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सोमबार विज्ञप्ति जारी गर्दै इन्धनको मूल्यमा भएको एक्कासि वृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको जनाएको हो।
नेपाल आयल निगम ले गएरातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। महासंघका महासचिव डेकनाथ गौतम ले जारी गरेको विज्ञप्तिमा इन्धनको मूल्य बढेपछि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न व्यवसायीहरूलाई कठिन भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुने व्यवस्था भए पनि २०८१ साल पुस २२ गतेदेखि हालसम्म भाडा समायोजन नभएको बताइएको छ।
महासंघले सवारी साधन सञ्चालनसँग सम्बन्धित १३ वटा सूचकका आधारमा वैज्ञानिक विधिबाट भाडा समायोजन गर्न माग गरेको छ। साथै संघीय रुट तथा सातै प्रदेशका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा यथाशीघ्र समायोजन गर्न सरकारसँग आग्रह गरिएको छ।

