काठमाण्डाै । नेपाल एअरलाइन्स ले उडान प्रभावित भएका यात्रुको सहजताका लागि काठमाण्डाै–दुबई–काठमाण्डाै विशेष उडान सञ्चालन गर्ने भएको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण केही दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका बेला यात्रुलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो।
निगमले जारी गरेको सूचनाअनुसार काठमाण्डाै–दुबई उडान आज राति ११:१५ बजे हुनेछ भने दुबई–काठमाण्डाै उडान भोलि स्थानीय समयअनुसार बिहान ४:१० बजे सञ्चालन हुने तालिका छ।
निगमका अनुसार फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले आजको उडानमा यात्रा गर्न चाहेको खण्डमा आफ्नो टिकट इमेलमार्फत पठाई पुनः प्रमाणीकरण (revalidation) गराउनुपर्नेछ। प्रमाणीकरण भएका यात्रुलाई मात्रै विमानस्थल जान अनुरोध गरिएको छ।
यसैबीच पश्चिम एशिया मा देखिएको तनाव केही कम भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले हिजोदेखि काठमाण्डाैका लागि आंशिक उडान पुनः सुरु गरेका छन्।
संयुक्त राज्य अमेरिका र इरान बीच युद्ध सुरु भएपछि यात्रु र चालक दलको सुरक्षालाई ध्यानमा राख्दै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन ले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका थिए, जसका कारण धेरै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए।

