काठमाडौं — प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ।
साढे १० बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख १४ हजार ८९१ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपाले समानुपातिकमा पनि ठूलो मत ल्याएसँगै समग्र सिट संख्या दुई तिहाइ नजिक पुग्ने देखिएको छ।
समानुपातिकतर्फ हालसम्मको मत परिणामअनुसार दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १६ लाख ९५ हजार २६६ मत पाएको छ। तेस्रो स्थानमा नेकपा एमालेले १४ लाख १३ हजार ६९ मत प्राप्त गरेको छ भने चौथो स्थानमा रहेको नेकपाले ७ लाख ६७ हजार ३२७ मत ल्याएको छ।
त्यस्तै, पाँचौं स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ मत पाएको छ। छैटौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २५ हजार ३७५ मत ल्याउँदै थ्रेसहोल्ड कटाएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म एक करोड ४ लाख ४३ हजार २७२ मत गणना भइसकेको छ। प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै सार्वजनिक भइसकेको थियो।

