काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर रहनुभएका चर्चित राजनीतिज्ञ हर्क साम्पाङ संघीय संसद्को प्रतिनिधिसभामा विजयी भएका छन्। आफ्नै नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीबाट चुनावी मैदानमा उत्रिनुभएका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ मा सानदार जित हासिल गर्नुभएको हो।
अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रास्वपा की उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गर्नुभएको छ।
यो क्षेत्रका अन्य उम्मेदवारहरूमा नेकपा एमाले का टिका मांगलेनले ६ हजार ३३१ र नेकपा का सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन्। यसले पुराना स्थापित राजनीतिक शक्तिहरू यहाँ कमजोर रहेको देखाएको छ।
श्रम संस्कृति पार्टीको नयाँ राजनीतिक लहर
पार्टी दर्ता भएको केही महिनामै साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ दुई सिट जितेर राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको छ। साम्पाङसँगै पार्टीका महासचिव आरेन राईले खोटाङबाट जीत हासिल गरेका छन्।
धरानको मेयरको रूपमा साम्पाङले खानेपानी समस्या समाधानका लागि ढुङ्गा बोकेर श्रमको सम्मान सिकाउने कार्य गरेपछि, अब संसद्मा श्रमजीवी वर्गको आवाज बुलन्द गर्ने तयारी गर्दै हुनुहुन्छ। यस विजयले नेपाली राजनीतिमा सादगी, श्रम सम्मान र कार्यशैलीको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

