रौतहट – रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन्द्र पटेल विजयी भएका छन्। उनले २७ हजार ३१८ मत पाउँदै निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी का गोविन्द चौधरीलाई १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन्। चौधरीले ११ हजार ९५४ मत पाएका थिए।
त्यस्तै, आम जनता पार्टी का अध्यक्ष प्रभु साह ९ हजार ८९० मतमा सीमित भए भने एमाले का कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत पाएका छन्।
योसँगै रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। चारमध्ये तीन क्षेत्र रास्वपाका उम्मेदवारले जितेका छन् भने २ नम्बर क्षेत्र नेपाली कांग्रेसका उम्मेदवारले कब्जा गरेका छन्।
१८ वर्षदेखि प्रतिनिधिसभा सदस्य बन्न सफल प्रभु साहको रौतहट–३ मा पकड कमजोर परेको छ। यो क्षेत्रलाई लामो समयदेखि प्रभु साहको गढ मानिन्थ्यो, तर मतदाताले यसपटक नयाँ विकल्प रोज्दै रास्वपाका पटेललाई विजयी बनाएका छन्, जसले क्षेत्रीय राजनीतिक परिदृश्यमा ठूलो भूचाल ल्याएको छ।

