रौतहट – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै रौतहटमा शान्ति–सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीसहित व्यापक गस्ती सुरु गरेको जनाएको छ।
रौतहटमा तैनाथ श्री नारायणदल गण ले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अत्याधुनिक सैनिक सवारी साधनसहित सुरक्षा निगरानी बढाएको हो। सेनाले जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गर्दै सम्भावित जोखिम नियन्त्रणमा लिन सक्रियता बढाएको जनाएको छ।
मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सेनाको भनाइ छ। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा सतर्कता उच्च पारिएको छ।
सेनाको टोली रौतहट जिल्लाका सबै १७ वटै स्थानीय तहमा तैनाथ रहेको जनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सँग समन्वय गर्दै संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल का अनुसार निर्वाचन सुरक्षाका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको छ। उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
