सुनसरी – प्रतिनिधिसभा निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन विथोल्ने आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा माङसेबुङ गाउँपालिका–१ का ३८ वर्षीय प्रविन मिश्र, पथरी शनिश्चरे नगरपालिका–१० का ५१ वर्षीय सिताराम बुढाथोकी तथा साप्लासिसो गाउँपालिका–१ का ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन्।
सुनसरीका प्रहरी प्रमुख केशव थेबे का अनुसार बुढाथोकी र बोहोरालाई शनिबार तथा मिश्रलाई गत बुधबार सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
निर्वाचनको वातावरण विथोल्ने, सर्वसाधारणलाई मतदान स्थलमा नजान धम्क्याउनेलगायत शंकास्पद गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

