काठमाडौं — संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा इरानको दक्षिणी क्षेत्रमा गरेको हवाई आक्रमणमा एक विद्यालयमा क्षति पुग्दा कम्तीमा १०८ जनाको मृत्यु भएको इरानी स्थानीय सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको दाबी गरिएको छ। यद्यपि, यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।
इरानी राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमाथि भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भन्दै कडा टिप्पणी गरेका छन्। तर अमेरिका र इजरायलले भने विद्यालय नै लक्षित गरी आक्रमण गरिएको विषयमा औपचारिक पुष्टि गरेका छैनन्।
उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर दूरीमा रहेको बताइएको छ। सो क्याम्प इजरायल र अमेरिकाको आक्रमणको मुख्य निशाना बनेको दाबी गरिएको छ। होर्मोजगान प्रान्तको मिनाब सहरस्थित विद्यालयमाथि तीनवटा मिसाइल खसेको एक अधिकारीले बताएका छन्।
जेनेभास्थित अन्तर्राष्ट्रिय रेडक्रस समिति र अन्तर्राष्ट्रिय रेड क्रिसेन्ट महासंघका अधिकारीहरूले घटनापछि उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्।
BBCले विस्फोटपछिका केही भिडियो क्लिप प्रमाणीकरण गरेको जनाएको छ, जसमा एक भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसहरूको भीड लागेको र चिच्याइरहेको सुनिन्छ। तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको पनि बीबीसीले उल्लेख गरेको छ। इरानमा अन्तर्राष्ट्रिय सञ्चारकर्मीलाई प्रायः भिसा नदिइने भएकाले तथ्य संकलन गर्न कठिन हुने बताइएको छ।
घटनापछि इरानी सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। विदेशमा बसोबास गर्ने तथा इरानमाथि सैन्य हस्तक्षेपको विरोध गर्ने एक इरानीले लेखेका छन्, “यस युद्धका पहिलो पीडित मिनाबका ४० बालिकाहरू हुन्, जो मिसाइल आक्रमणमा परे। के तपाईंहरूले समर्थन गरेको युद्ध यही हो?”
तर इरानी शासनप्रति गहिरो अविश्वास रहेकाले केहीले सरकारी विवरणप्रति शंका व्यक्त गर्दै शासनलाई नै दोष दिएका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “यदि शासनले विद्यालयलाई प्रत्यक्ष रूपमा निशाना नबनाएको भए पनि, मिनाबमा बालबालिकाको मृत्युको जिम्मेवारी इस्लामिक गणतन्त्रकै हो।”
यो घटना अमेरिका र इजरायलले शनिबारभर इरानका विभिन्न सहरमा निरन्तर हवाई आक्रमण गरिरहेका बेला भएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनीसहित उनका वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन्। उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

