काठमाण्डाै — नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि नेपालमा हाललाई पुरानै मूल्य कायम राखिएको जनाएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले साविककै मूल्य यथावत् राखिएको स्पष्ट पारेको हो।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ४७ पैसा तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा वृद्धि भएर आएको थियो। यद्यपि, उक्त वृद्धि तत्काल उपभोक्तामाथि नथोपर्ने निर्णय गरिएको निगमले जनाएको छ।
हाल चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा कायम छ। यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा रहेको छ।
त्यसैगरी सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल १४१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। काठमाण्डाै, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ तथा डिजेल र मट्टितेल १४२ रुपैयाँ प्रतिलिटर रहेको निगमले जनाएको छ।
निगमले अन्तर्राष्ट्रिय मूल्य, ढुवानी लागत र विनिमय दरलगायतका आधारमा समय–समयमा मूल्य समायोजन गरिने उल्लेख गरेको छ।

