नयाँ दिल्ली । दिल्लीस्थित राउज़ एवेन्यू अदालतले शुक्रबार कथित आबकारी (रक्सी) नीति घोटाला प्रकरणमा आरोपित सबैलाई निर्दोष ठहर गरेको छ।
निर्दोष ठहर हुनेमा अरविंद केजरीवाल र मनीष सिसोदिया समेत रहेका छन्। दुवै जना आम आदमी पार्टी (आप) का शीर्ष नेता हुन्।
भारतीय सञ्चारमाध्यम Hindustan Timesका अनुसार विशेष न्यायाधीश जितेन्द्र सिंहको इजलाशले अभियोजन पक्षले प्रस्तुत गरेको प्रमाण अभियुक्तविरुद्ध ठोस रूपमा पुष्टि हुन नसकेको उल्लेख गर्दै फैसला सुनाएको हो। अदालतले आबकारी नीति सम्बन्धी कथित भ्रष्टाचार प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (CBI)द्वारा दायर आरोपपत्रसमेत अस्वीकार गरेको जनाएको छ।
अदालतको निर्णयपछि आपका राष्ट्रिय संयोजकसमेत रहेका केजरीवालले प्रतिक्रिया दिँदै भने, “भाजपाले बनाएको तथाकथित रक्सी घोटालामा अदालतले सत्य उजागर गरिदिएको छ। आम आदमी पार्टीलाई समाप्त गर्न प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहले स्वतन्त्र भारतको सबैभन्दा ठूलो षड्यन्त्र रचेका थिए। तर आज अदालतले स्पष्ट गरिदियो कि म र मनीष सिसोदिया भ्रष्ट छैनौं। मैले मेरो जीवनमा केवल इमानदारी कमाएको छु।”
उनले थपे, “म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– सत्ताका लागि देश र संविधानसँग खेलबाजी नगर्नुहोस्। राम्रो काम गर्नुहोस् र कामको बलमा जनताको विश्वास जित्नुहोस्।”
यस्तै, सिसोदियाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै संविधानप्रति गर्व व्यक्त गरेका छन्। उनले लेखेका छन्, “आज फेरि बाबा साहेब आंबेडकरको दूरदर्शी सोच र उहाँले बनाएको संविधानप्रति गर्व महसुस भइरहेको छ। मोदीजीको पूरै पार्टी र सबै एजेन्सीहरूले हामीलाई बेइमान साबित गर्ने प्रयास गरे तापनि आज प्रमाणित भयो कि म र अरविंद केजरीवाल कट्टर इमानदार हौं।”
अदालतको उक्त निर्णयले भारतीय राजनीतिमा नयाँ बहस सुरु भएको छ।

