वीरगञ्ज । अशोक कुमार टेमानीले प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रहेका टेमानी शनिबार बिहान वीरगञ्ज महानगरपालिका–२६ अठराहा पुगेर स्थानीय अगुवा, कार्यकर्ता तथा मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका हुन्।
भेटघाट कार्यक्रममा उनले क्षेत्रको समग्र विकास, स्थानीयवासीको जीवनस्तर उकास्ने तथा आधारभूत समस्याको समाधानलाई प्राथमिकतामा राख्दै आफ्ना मुख्य एजेन्डा सार्वजनिक गरे। निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विकास, खानेपानी र ढल निकास व्यवस्थापनमा ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
टेमानीले युवाहरूलाई स्वरोजगार तथा सीप विकासका अवसर उपलब्ध गराउने, उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने तथा मधेस प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगञ्जको सम्भावनालाई सदुपयोग गर्दै समृद्धि हासिल गर्ने योजना अघि सारे।
उनले भने, “यो क्षेत्रले लामो समयदेखि आधारभूत विकासको अभाव झेलिरहेको छ। म निर्वाचित भएपछि संसद्मा यस क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउनेछु र केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी परिणाममुखी काम गर्नेछु। विकास, समृद्धि र स्वाभिमान हाम्रो साझा अभियान हो।”
कार्यक्रममा स्थानीयवासीहरूले सडकको खाल्डाखुल्डी, बिजुली तथा खानेपानीको नियमित आपूर्ति, युवाहरूका लागि रोजगारी अभाव र स्वास्थ्य सेवाको पहुँचजस्ता विषयमा गुनासा राखेका थिए। टेमानीले ती समस्यालाई गम्भीरतापूर्वक सुनेर समाधानका लागि पहल गर्ने आश्वासन दिए।
व्यवसायी पृष्ठभूमिबाट आएका टेमानी नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत हुन्। निजी क्षेत्रको अनुभवलाई राजनीतिमा उपयोग गर्दै जनताको सेवा गर्ने उद्देश्यले यसपटक जसपा नेपालबाट उम्मेदवारी दिएको उनले बताए।
अभियान पर्सा–२ क्षेत्रमा सञ्चालन भइरहेको घरदैलो तथा मतदाता संवाद कार्यक्रमअन्तर्गतको एक हिस्सा हो। टेमानीले विभिन्न वडा तथा टोलहरूमा निरन्तर भेटघाट गर्दै प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उनको उम्मेदवारीलाई नयाँ विकल्पका रूपमा चर्चा गरिएको छ।
छलफल कार्यक्रममा पूर्व मन्त्री तथा मधेस प्रदेशका प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीलगायतको सहभागिता रहेको थियो।

