काठमाडौँ — निर्वाचन आयोग नेपालले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानका दिन अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार मर्मतका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनका लागि पास प्राप्त अन्य सवारीसाधनबाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लाग्नेछ।
मतदानको सात दिनअघि देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मुलुकभर मादकपदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृहमन्त्रालयलाई पत्र पठाउने निर्णय समेत भएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले ७७ वटै जिल्लामा मादकपदार्थ नियन्त्रणको व्यवस्था गर्न निर्देशन दिएको छ।
जिल्ला आचारसंहिता अनुगमन समितिले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार निषेधित कार्य हुन नदिने, उल्लंघन भएमा कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने जिम्मेवारी पाएको छ।
त्यसैगरी, फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिएको छ।
मतदानका दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान सञ्चालन हुने व्यवस्था मिलाइएको छ। टिकटधनी यात्रुहरूले विमानस्थल–होटल–विमानस्थल यात्रा गर्दा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न सक्नेछन्।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार मतदान ७२ घण्टा अघि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमा बन्द गर्ने व्यवस्था मिलाइएको छ।
मतदाताले मतदानका दिन मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा कागजात लिएर मतदान केन्द्र पुग्नुपर्ने व्यवस्था गरिएको छ।
आयोगले मतदानको दिन सवारी पास वितरण गर्न आफ्नै सचिवालय परिसरमा पास वितरण इकाई स्थापना गर्नेछ। यसमा आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट कर्मचारी तोकिने छन्। आवश्यक सहजीकरण र समन्वयका लागि आयोगले सम्पूर्ण सरोकारवालालाई निर्देशन र सहयोगको आग्रह गरेको छ।
