वीरगन्ज — नेपाली कांग्रेसका सभापति गगन थापा फागुन १६ गते वीरगन्ज आउने भएका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस पर्साले उक्त दिन आमसभा आयोजना गर्न लागेको हो।
कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार फागुन १६ गते शनिबार वीरगन्जको घण्टाघर छेउस्थित बीपी उद्यानमा आमसभा आयोजना गरिनेछ। सो सभालाई सभापति थापासहित पार्टीका अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
उक्त आमसभामा पर्साका चारवटै निर्वाचन क्षेत्रबाट नेता–कार्यकर्ता र समर्थकहरूलाई सहभागी गराई वीरगन्जमा पार्टीको शक्ति प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कांग्रेस पर्साले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूले चुनावी गतिविधि तीव्र बनाइरहेका छन्।

