वीरगन्ज — नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को उद्घाटन समारोह बुधबार भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन नरेश पटेलले गर्नुभएको थियो भने समारोहका सभापति तथा प्रतियोगिताका संयोजक सन्नी दुबे रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय इकाई पर्साका इकाई प्रमुख मोतीलाल भट्टराई उपस्थित थिए।
विशिष्ट अतिथिहरूमा एनप्याब्सनका केन्द्रीय संस्थापक सदस्य तथा CPS School का संस्थापक रामबिनेश चौधरी, केन्द्रीय सचिव शुशील भट्टराई, सदस्य अरविन्द सिंह, नगर अध्यक्ष तथा Sagarmatha School का प्रधानाध्यापक जियालाल गुप्ता तथा नगर सचिव एवं Birgunj Golden Gate Academy का प्रतिनिधि सेख अजहर को उपस्थिति रहेको थियो।
कार्यक्रममा Kavya Academy का संस्थापक हरिन्द्र प्रसाद कुशवाहा ले स्वागत मन्तव्य व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उद्घाटन समारोहमा Kavya Academy का छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।
वक्ताहरूले खेलकुदलाई प्रतिस्पर्धामात्र नभई अनुशासन, सहकार्य, नेतृत्व विकास र स्वस्थ जीवनशैलीको माध्यमका रूपमा व्याख्या गर्दै प्रतियोगिताले विद्यार्थीहरूबीच मित्रता र खेलभावनाको विकास गर्ने विश्वास व्यक्त गरे।
उद्घाटन दिन सम्पन्न पहिलो खेलमा काव्य एकेडेमीले शुभतारा स्कूललाई ८४ रनको फराकिलो अन्तरले पराजित गर्यो। काव्य एकेडेमीका खेलाडी अवधेश पण्डित उत्कृष्ट प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ घोषित भए।
यसैगरी, अर्को खेलमा G.H.P. ले Sesame School विरुद्ध ३० रनले शानदार जित हात पार्यो। G.H.P. का केशव यादवले ५ विकेट लिँदै निर्णायक भूमिका खेलेका थिए र उनी ‘म्यान अफ द म्याच’ घोषित भए।
अन्त्यमा आयोजक संस्थाले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेको छ। विद्यालयस्तरको क्रिकेटमा नयाँ ऊर्जा थप्दै खेलकुदमार्फत शैक्षिक वातावरणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

