काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च अब सरकारले ब्यहोर्ने निर्णय भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मी घाइते भएमा त्यसको उपचार खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको हो।
सरकार प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार प्रेस ब्रिफिङमार्फत् उक्त निर्णय सार्वजनिक गर्दै, निर्वाचनको समयमा सुरक्षाकर्मीहरूको सुरक्षालाई प्राथमिकता दिइएको बताएका छन्।
त्यसैगरी, निर्वाचन अवधिमा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई पनि सरकारले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ। यस कदमले निर्वाचन प्रक्रियामा संलग्न सुरक्षाकर्मीहरूलाई सुरक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको अधिकारीहरूले जनाएका छन्।

