सर्लाही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सर्लाहीमा आगमन गर्न लागेका छन्।
सर्लाही–४ का उम्मेदवार डा. अमरेश कुमार सिंह ले मंगलबारै आफ्ना समर्थक र स्थानीय जनसमुदायलाई सभापति लामिछानेको आगमनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका थिए। उनले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रम सफल बनाउन अनुरोध गरेका थिए।
सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन्। दिउँसो २:१५ बजे सर्लाहीको लाल बन्दीमा पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५:१० बजे रौतहटतर्फ जाने कार्यक्रम तय गरिएको छ।
उनीहरूको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अनुमान गरिएको छ। स्थानीय स्तरमा पार्टीका कार्यकर्ता र समर्थकहरूले स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा तयारीमा जुटेका छन्।
विश्लेषकहरूले लामिछानेको आगमनले सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन जुटाउने अभियानलाई बल दिने र चुनावी माहोल थप प्रतिस्पर्धात्मक बनाउने बताएका छन्।

