पर्सा — नेपाली कांग्रेस का उम्मेदवार अजयकुमार चौरसिया ले बुधबार पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगन्ज महानगरपालिका–१७ अलौं मा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो।
कार्यक्रममा कांग्रेसका नेताकार्यकर्ता र समर्थकहरू उपस्थित थिए। चौरसियाले घरदैलोको क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको गुनासा, आवश्यकता र समस्या सुने। मतदातासँग कुरा गर्दै उनले क्षेत्रका विकासका कामलाई जनताको चाहना अनुसार अघि बढाउने वाचा पनि व्यक्त गर्नुभयो।
पूर्वमन्त्रीसमेत रहेका चौरसियाले लोकतन्त्रको रक्षा र देशको समग्र विकासमा कांग्रेसकै प्रमुख भूमिका रहेको भन्दै नयाँ र पुराना दलको भ्रममा नपर्ने गरी कांग्रेसलाई मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो। उनले हाल नयाँ भनेर चिनिने दलहरूले देश निर्माण र विकासमा योगदान नगरेको र विचार तथा सिद्धान्तविहीन भएको टिप्पणी पनि गर्नुभयो।
चौरसियाले कांग्रेसको वर्तमान नेतृत्व र नीति अनुसार पार्टी नेतृत्व मात्र नभई विचारमा पनि नयाँ बनेको उल्लेख गर्दै भने, “रूपान्तरित कांग्रेसप्रति देशभर जनताको उत्साह र समर्थन बढेको छ।”
उहाँले वर्तमान राजनीतिक संकटबाट निकास दिन, समावेशी विकास सुनिश्चित गर्न, जनअधिकारको रक्षा गर्न र स्थायित्व कायम गर्न कांग्रेसको नेतृत्व महत्वपूर्ण रहेको बताए। यस घरदैलो अभियानले मतदातासँग प्रत्यक्ष संवाद बढाउने मात्र नभई आगामी निर्वाचनमा कांग्रेसको समर्थन जुटाउन सहयोग गर्ने विश्लेषकहरूले बताएका छन्।
कार्यक्रमको समापनमा स्थानीय जनसमुदायले चौरसियाप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन एकजुट रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

