वीरगन्ज — उपकार सेवा नेपाल ले वीरगन्ज महानगरपालिका–१४ नयाँ टोल मुर्ली का ३० जना युवतीलाई सिलाई कटाई सम्बन्धी सीपमूलक तालिम प्रदान गरेको छ।
युवती तथा महिलाहरूलाई सीपयुक्त बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले दुई महिने तालिम सञ्चालन गरेको जनाएको छ। तालिम अवधिभर सहभागीहरूलाई आधारभूतदेखि उन्नतस्तरसम्मका सिलाई कटाईका व्यवहारिक सीपहरू सिकाइएको थियो।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले तालिमले युवतीहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। तालिम पश्चात् सहभागीहरूले घरमै सिलाई व्यवसाय सञ्चालन गर्न वा विभिन्न टेलर्समा रोजगारी गरी आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउन सक्ने उनले बताइन्।
कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, संस्थाकी अभिभावक पदमादेवी सरावगी, सदस्य सुमन बगेडियार लगायतको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम आवश्यक रहेको धारणा राखेका थिए।
संस्थाले आगामी दिनमा पनि विभिन्न वडामा यस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

