काठमाडौं। चट्याङ लागेर गोरखाको बुंकोटकी एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब ४ बजे परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ वर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अवस्थामै उनलाई आरुघाट आधारभूत अस्पतालमा पुर्याइएको थियो। अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको जनाएको छ।
उक्त घटनामा सोही ठाउँकी १३ वर्षीया दीक्षा घर्ती मगर र भीमसेन थापा गाउँपालिका–६का २४ वर्षीय वीरेन्द्र थापा मगर घाइते भएका छन्। उनीहरूलाई सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ।
तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार, धादिङमा चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। प्रहरीले वर्षायाममा चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

