काठमाडौं— सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो।
यसअघि निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोगले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।
अदालतको आदेशसँगै प्रसाईंको रिहाइको प्रक्रिया अघि बढ्ने भएको छ।
