काठमाडौं – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक र अभिभावकलाई चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा चुनाव शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गराउन सबै पक्षले धैर्य र संयमता अपनाउन आह्वान गरिएको छ।
आयोगले शान्तिसुरक्षामा असर पार्ने गतिविधि बन्द गर्न, बालबालिकाको प्रयोग नगर्न/नगराउन र नागरिकको मानव अधिकारको सम्मान गर्न नेपाल सरकारसहित सबै सम्बद्ध पक्षलाई आग्रह गरेको छ। चुनाव नजिकिँदै गर्दा देशका विभिन्न ठाउँमा देखिएका घटनाले शान्तिसुरक्षा र निर्वाचन वातावरणमा असर पार्न सक्ने भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यसैबीच आयोगले देशव्यापी चुनाव अनुगमनलाई तीव्र बनाएको जानकारी दिएको छ। पछिल्लोपटक दाङ, रौतहट र पर्सा लगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच झडप र विवादका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै आयोगले यसले निर्वाचन प्रक्रियामा थप चुनौती थपेको चेतावनी दिएको छ।
आयोगका अनुसार राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताद्वारा गरिने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचन वातावरण अस्वस्थ बनाउन सक्ने खतरा बढाएको छ। सामाजिक तथा सांस्कृतिक सद्भाव विथोलिने प्रकारका अभिव्यक्ति र सामग्री प्रकाशन–प्रसारण नगर्न आयोगले विशेष आग्रह गरेको छ।
यस कदमले चुनावी माहोल सुरक्षित, निष्पक्ष र मानवअधिकारमैत्री बनाउने प्रयासलाई बल दिने अपेक्षा गरिएको छ।

