काठमाडौं – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार फागुन २० देखि २२ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय र शिक्षण संस्थाहरू बन्द रहने औपचारिक निर्णय गरेको हो।
फागुन २१ गते देशभर एकैचरणमा हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, सुरक्षित र मतदाताहरूको सहज सहभागिता सुनिश्चित गर्न सरकारले यो कदम चालेको जनाएको छ।
निर्वाचन आयोगले अधिकांश मतदान केन्द्र विद्यालयमा रहने र कर्मचारीहरू कार्यक्षेत्रमा खटिनुपर्ने भएकाले तीन दिनको बिदा आवश्यक रहेको सिफारिस गरेको थियो। यस निर्णयले उपत्यका बाहिर गएर मतदान गर्न जाने मतदातालाई समेत सहजता मिल्ने अपेक्षा गरिएको छ।

