काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४० लाख अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। उक्त अनुदान निर्वाचन व्यवस्थापन तथा आवश्यक तयारीमा खर्च गरिने जनाइएको छ।
त्यसैगरी चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रमअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि भएको छ। सरकारले उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने संकेत दिएको छ।
बैठकले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौंको अध्यक्षमा तोक्ने निर्णय गरेको छ। साथै बीमा ऐन २०७९को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णय पनि गरिएको छ।
आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने सार्वजनिक बिदाको सूची स्वीकृत गर्ने तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्को सातौँ निर्णय जेनजी परिषद् गठनसम्बन्धी रहेको जनाइएको छ।

